पर्वतमा पहिरोले चार परिवार विस्थापित, बस्ती जोखिममा

पर्वत | साउन १३, २०७९

पर्वतमा पहिरोले चार परिवार विस्थापित, बस्ती जोखिममा

 

केही दिनदेखिको वर्षापछि खसेको पहिराले पर्वतको कुश्मा नगरपालिका-१० पिपलटारीका चार परिवार पूर्णरुपमा विस्थापित बनेका छन् । पहिराले करिब ६० परिवार रहेको बस्ती जोखिममा परेको छ । 

 

पिपलटारीको सिमखेतस्थित बस्तीमाथिको फाँटबाट पहिरो खसेपछि आसपासका बासिन्दासमेत त्रसित बनेका छन् । करिब दुई सय मिटरमाथिबाट बग्न सुरु गरेको पहिरो बस्तीसम्मै आइपुगेपछि चार परिवारले घरै छाडेका वडाध्यक्ष रामचन्द्र सुवेदीले जानकारी दिनुभयो । स्थानीय कृष्ण सुवेदी, होमनाथ शर्मा, जगत् सुवेदी र रघुनाथ सुवेदीका परिवार पहिरोले पुरिने डरले घर छोडेर छिमेकीकोमा शरण लिइरहेका छन् । 

 

त्यस्तै आसपासका ६४ परिवार रहेको बस्ती पहिरोको प्रत्यक्ष जोखिममा छ । पहिरोको कारण गाउँमा वितरित विद्युत्का पोलसमेत ढल्न थालेपछि स्थानीयले विद्युत् प्राधिकरणको कुश्मा वितरण केन्द्रलाई जानकारी गराएका छन । दुई वर्षअघिदेखि खेतको फाँटमा धाँजा फाटेको र गत सोमबारदेखि परेको वर्षापछि खेतसहित पहिरो बगेर बस्तीमा खस्न थालेको स्थानीय शङ्कर सुवेदीले बताउनुभयो ।  

 

विद्युतको तार घरमा आएर करेन्ट लाग्ने हो भन्ने त्रासले राति घरमा बस्न नसकिएको उहाँले बताउनुभयो । पहिरोले १२ रोपनी जग्गासमेत बगाइसकेको छ । स्थानीय खिमनाथ सुवेदीले धान खेतसमेत बगाएपछि कहाँ बस्ने र के खाने भन्ने चिन्ताले सताएको बताउनुभयो । “अघिल्ला वर्षमै धाँजा फाटेको थियो”, वडाध्यक्ष रामचन्द्र सुवेदीले भन्नुभयो, “अहिले वरपरको थुप्रै खेतसहित बस्ती नै बगाउने गरी खसेको छ । अब तत्काल रोकथाम नगरे यो बस्तीका ६०-६५ परिवार विस्थापित हुनुपर्नेछ ।” नगरपालिका हुँदै प्रदेश र केन्द्रसम्म समस्या समाधानका लागि पहल गर्न स्थानीयले सम्बन्धित निकायसँग माग गरेका छन् । 

 

पहिरोले बस्ती नै बग्न थालेको जानकारीपछि कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजाल, इन्जिनियरद्वय शिवप्रसाद बराल र सञ्जय लामिछाने, विद्युत् प्राधिकरणको कुश्मा वितरण प्रमुख शिवनारायण गोशली, भू तथा जलाधार व्यवस्थापन कार्यालयका इन्जिनियर विकास थापालगायतको टोलीले पहिरोग्रस्त क्षेत्रको अनुगमन गरेको छ । 

 

अनुगमनपश्चात् प्राविधिक टोलीले तत्काल नियन्त्रणको प्रयास थाल्नुपर्ने निष्कर्ष निकालेको छ । त्यसका लागि भू तथा जलाधार कार्यालयले ग्याभियन जाली तथा अन्य अस्थायी रोकथामका काम सुरु गर्ने जनाएको छ । विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रका प्रमुख गोशलीले बस्तीमा जोखिम भएको विद्युत्का पोल फेर्न सुरु भइसकेको जानकारी दिनुभयो । “पहिरो खसेको स्थानमा तीन पोल जोखिममा छन् । एउटा पहिरोले बगाएर तल खसालेको छ”, उहाँले भन्नुभयो, “बाँकी दुई हटाउनुपर्ने छ ।”

 

गत वर्षजस्तो ठूलो वर्षा नभए पनि जोखिमयुक्त बस्तीका नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जानकारी दिनुभएको छ । 

काठमाडौं:  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताउनुभएको छ ।  काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्...

थप पढ्नुहोस्

काठमाडौं:  प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीले सोमबार राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दैछन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार सोमबार दिउँसो १ बजे...

थप पढ्नुहोस्

गण्डकी:   कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग खेल्दै थिए । प्रकृति र जीवनका अनेक भावभङ्गीलाई उनीहरुले क्यानभासमा उतारे । आइतबार पर्वतको कुश्मास्थित शताब्दी घर कलामय बन्यो । एकै थलोमा अनुजदेखि अग्...

थप पढ्नुहोस्